/  

नेकपाको ६४ औं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना

नेपाली जनताको क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी को स्थापना भएको आज ६३ वर्ष पूरा भै ६४ औं वर्षमा प्रवेश गरेको छ । अत्यन्त वर्वर सामन्तयुगमा रहेको मुलुकमा शाही राजतन्त्रलाई समेत आफ्नो पड्यन्त्रको जालोभित्र राखी नेपाली जनतामाथि चरम शोषण, दमन र अन्धकार थोपर्दै १०० वर्षभन्दा बढी शासन गरेको राणाशाहीको विरुद्ध संगठन बनाई योजनावद्ध ढंगले क्रान्तिकारी गतिविधि गर्नु चानचुने विषय थिएन । महान अक्टोवर क्रान्ति पश्चात सोभियत संघमा जारी समाजवादी निर्माणको महाअभियान, चीनमा भर्खरै सम्पन्न नयाँ जनवादी क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनको रापले नेपाली युवाहरुमा आएको चेतनाको परिणामस्वरुप कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा सामन्ती व्यवस्थाको अन्त्य गरी जनताको जनवाद स्थापना गर्ने महान ध्येयका साथ चारजना अन्य कमरेडहरु समेतलाई लिई आजभन्दा ठीक ६३ वर्ष पहिले सर्वहारावर्गका मार्गदर्शक र अक्टोवर समाजवादी क्रान्तिका प्रवर्तक महान नेता लेनिनको जन्म जयन्तिको अवसर पारी २२ अप्रिल १९४९, तदनुसार २००६ साल वैशाख १० गते का दिन कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । 
६३ वर्ष पहिले स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न आरोहअवरोह पार गर्दै, फुट र विभाजनको भूमरीमा परे पनि समयसमयमा एकतावद्ध हुँदै यहाँसम्म आइपुग्दा एक दर्जनको हाराहारीमा विभिन्न समूहमा विभक्त छ । यसरी विभिन्न समूह र धारामा विभक्त भए पनि राणाशाही विरोधी क्रान्तिमा सहभागिता, २०४६ सालमा सम्पन्न निरङ्कुश पञ्चायती व्यवस्थारुपी राजाको निरङ्कश शासन समाप्त पारी प्रजातन्त्र वहाली गर्न र २०६२०६३ सालमा सम्पन्न तेस्रो राजनीतिक क्रान्तिद्वारा २४० वर्ष लामो शाही राजतन्त्र समाप्त पारी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न यस कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । 
पार्टी स्थापनाको यस ६४ औं स्थापना दिवसको अवसरमा म, पार्टी र आफ्नो तर्फबाट सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । 
यसैगरी सर्वहारा क्रान्तिका मार्गदर्शन, सोभियत समाजवादी क्रान्तिका प्रवद्र्धक महान नेता भ्लादिमिर इल्यिच एल्यानोभ लेनिन को १४३ औं जन्म जयन्तिको अवसरमा अग्रज कमरेड लेनिनप्रति पार्टी र आफ्नो तर्फबाट श्रद्धा व्यक्त गर्दछु । 
अन्त्यमा, मुलुकलाई अद्र्धऔपनिवेशीक तथा अद्र्धसामन्ती व्यवस्थाबाट मुक्त गर्न सामन्ती तथा दलाल नोकरशाही पुँजीवादको शोषण, उत्पिडन र शासनलाई अन्त्य गर्दै नयाँ जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने महान ध्येयमा अविचलित रही निष्ठापूर्वक अघि बढ्न यस दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने दृढ विश्वास गर्दछु । लालसलाम ।

१० वैशाख, २०६९
 
..........................
सी.पी. मैनाली
महासचिव
Attachments#
64th Foundation day.doc(141 KB) ६४ औं स्थापना दिवसको शुभकामना Download